काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई निवासबाटै पक्राउ गरेको हो।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको फेसबुक मार्फत जानकारी दिएका छन् ।
केन्द्रीय सदस्य शिवाकोटीले लेखेका छन्, ‘केहि दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको होरु संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृती दिएका हुन्रु कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्र ?’
यसअघि सांसद शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
गत साउन १० गते संसद बैठकमै उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए ।
‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले बैठकमा भनेका थिए ।-रासस