टी-२० विश्वकप छनोट : नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

काठमाण्डाै – फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै नेपाल आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिकै पुगेको छ । आज फिलिपिन्सलाई ठूलो अन्तरले हराएको नेपाल चार अंकसहित शीर्ष स्थानमा छ ।

नेपालको रनरेट पनि ४ दशमलव ३७५ रहेको छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ अंक छ भने रनरेट २ दशमलव ५१२ रहेको छ । तेस्रो स्थानको ओमानको पनि २ अंक नै छ तर रनरेट माइनस ५६३ रहेको छ । फिलिपिन्स बाहिरिसकेको छ ।

अब हुने खेलमा नेपालले क्यानडालाई हराएमा समूह विजेता बन्नेछ । तर क्यानडासँग सामान्य अन्तरको हारले पनि नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न अब क्यानडा र ओमानले आफ्ना खेल जितेर मात्र हुनेछैन रनरेट पनि उच्च हुनुपर्नेछ । ओमानले फिलिपिन्सलाई निकै ठूलो अन्तर र क्यानडाले पनि नेपाललाई निकै ठूलो अन्तरले हराएर नेपालको भन्दा राम्रो रनरेट बनाए भने नेपाल बाहिरिनेछ ।

तर नेपालको रनरेट ४ दशमलव ३७५ रहेकाले सेमिफाइनलको सम्भावना उच्च रहेको छ । ग्लोबल छनोटमा ८ वटा देश दुई वटा समूहमा छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!